एसईई २०८० को कमजोर नतिजा: के हुन् त कारणहरु ?

ब्रेकिंग

3/recent/ticker-posts

एसईई २०८० को कमजोर नतिजा: के हुन् त कारणहरु ?


राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा सञ्चालित एसईई परीक्षाको नतिजा असारको १३ गते सार्वजनिक गर्यो । परीक्षामा सहभागीमध्ये ४७.८६ प्रतिशत मात्र ११ कक्षामा भर्ना हुन पाउने भए । बोर्डका अनुसार परीक्षामा सहभागी ४ लाख ६४ हजार ७ सय ६५ विद्यार्थीमध्ये २ लाख २२ हजार ४ सय ७२ जना कक्षा ११ मा भर्ना हुन योग्य भएका हुन्  ।  एसईईको नतिजामा २ लाख ४२ हजार ३१३ जना अर्थात् ५२.१४ प्रतिशत विद्यार्थीको नतिजा एनजी अर्थात् Non Graded  आएको छ । यसरी नतिजा कमजोर रहेकोले यतिबेला देशभरी शिक्षा क्षेत्रमा धेरै बहस भएका छन ।

म्याग्दी जिल्लामा यस वर्षको नतिजामा ३७.७४ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भए । यो नतिजा राष्ट्रिय नतिजाको तुलनामा अत्यन्तै न्युन हो । नतिजालाई लिएर धेरै थरिका बहस भैरहेका छन् । गल्ली,चोक, चियापसल देखि सामाजिक संजालमा नतिजालाई लिएर निकै बहस चल्यो, किन खस्कियो ? किन यति थोरै पास भए भनेर जव नतिजा प्रकाशन भयो सिधै शिक्षकतर्फ सोझियो यो नतिजाको पहिलो प्रहार ।

सिकाइको नतिजा यो हदसम्म खस्कनुमा सरोकारवालाहरूले समेत एक अर्कामा आरोप प्रत्यारोप गरेको देखिन्छ । सबैभन्दा बढी दोष सामुदायिक विद्यालयमा अध्यापन गर्ने शिक्षकमाथि थोपरिएको छ । किनकि संस्थागत विद्यालयको नतिजाको तुलनामा सामुदायिक/सरकारी विद्यालयको उत्तीर्ण प्रतिशत कम छ  ।

कमजोर नतिजा आएपछि लिएको जति चासो र चिन्ता अध्यापन गराउने समयमा लिईएको हुन्थ्यो भने  यस्तो कमजोर नतिजा आउने नै थिएन । एसईईको नतिजा यति कमजोर हुनुले देशको शिक्षा प्रणालीमा एक ठूलो धक्का लागेको छ साथै सुधारको लागि ठुलो चुनौती देखिएको छ ।  विद्यार्थीको सिकाइको स्तर किन यसरी खस्कियो त ? नतिजा बिग्रनुमा कसको कति दोष छ त ? शिक्षकको कति दोष छ ? अभिभावकहरु दोषी हुन्छन कि हुदैनन् स्वयं विद्यार्थीहरु कति दोषी छन् ? यी यावत कुरालाई सुक्ष्म रुपमा केलाउनु जरुरी छ अनि बल्ल कुन तत्वले विद्यार्थीको सिकाइस्तरलाई प्रभाव पारेको रहेछ भन्ने थाहा पाइन्छ । यसका धेरै कारणहरु छन् ति  कारणबारे  गहन रुपमा अध्ययन गर्नु जरुरी भएको छ ।

सामुदायिक विद्यालय तर्फको नतिजा  हेर्ने हो भने मुख्य कारण शिक्षक हो । सामुदायिक विद्यालयमा विषयगत शिक्षकको अभाव हुनु प्रमुख कारण हो । शिक्षकका लागी धेरै पटक बिज्ञापन गरेपनि शिक्षक पाउन नसक्नुले यसमा प्रभाव पारेको छ ।  त्यसैगरी, विद्यार्थीहरूप्रति अभिभावकको निगरानी अत्यन्त न्यून हुनु, अर्को कारण हो । हाम्रा अभिभावकहरु ब्यस्त भएर वा अस्तव्यस्त भएर  हो आफ्ना नानिबाबुहरुलाई समय दिन सकेका छैनन् जसका कारण बालबालिकाले के गर्दैछन ? पढाइ के कस्तो हुदैछ ? भन्ने थाहा समेत हुँदैन अन्त्यमा नतिजा आएपछि मात्रै चासो देखाउने अभिभावकहरु धेरै हुनुहुन्छ ।

अर्को कुरा,  कोभिडको महामारीमा अनलाइन सिकाइ सहजीकरणका लागि मोबाइलको प्रयोग अत्यधिक भयो जसका कारण विद्यार्थीहरुमा मोबाइलको  लत बस्यो । मोबाइलमा  अभ्यस्त भएका विद्यार्थीले त्यसको दुरुपयोग गरी सामाजिक सञ्जालमा अधिकतम समय खर्चने  धेरै विद्यार्थीहरु त मोबाइल गेम्स पब्जी र फ्रिफायर लगायतका खेलमा यसरी रुमलिए कि उनीहरुलाई त्यो लतबाट छुटाउन असाध्यै गाह्रो भएको छ । अर्कोतिर, टिकटक स्न्यापच्याट जस्ता एपमा विद्यार्थीहरु रमाउन थाले, घरमा अभिभावकलाई अनि विद्यालयमा शिक्षकलाई नटेर्ने अबस्था छ । अर्को पक्ष कारण आधारभूत तहमा प्रयोगात्मक अङ्कसमेत जोडेर विद्यार्थीलाई कक्षा चढाइनु पनि हो । विगत केही वर्षयता केही विषयमा न्युनतम ग्रेड प्राप्त नगरेका विद्यार्थीलाई पनि कक्षा ११ मा पढ्न पाइने जस्ता कमजोर नीतिगत व्यवस्था गरिनु, स्थानीय तह, शिक्षक अभिभावक संघ, विद्यालय व्यवस्थापन समितिका पधाधिकारीहरुको पर्याप्त अनुगमन नहुनुले गर्दा विद्यार्थीको सिकाई उपलब्धि अत्यन्त न्यून भएको यथार्थ हो ।

शैक्षिक गुणस्तरमा सुधार ल्याई नतिजा सुधार्न शिक्षक, विद्यार्थी तथा अभिभावकको साझा प्रयासले मात्रै सम्भव छ  । अभिभावकको बालबालिकाको सिकाइप्रति चासो नै छैन , शैक्षिक सुधारको लागि विद्यालयले अभिभावक अन्तरक्रियाको लागि पटक पटक  पत्राचार गर्दासमेत एक तिहाई अभिभावकको मुस्किलले उपस्थित हुने तितो यथार्थ विद्यालयले भोगेका छन् । अभिभावकहरु पनि विद्यालय र आफ्ना बालबालिका प्रति त्यति चासो राख्दैनन जसको कारण हाम्रा धेरै विद्यार्थीहरु अभिभावकको नियन्त्रणमा समेत छैनन् ।

हाम्रा धेरै अभिभावक विद्यालयमा आएर गुनासो पोख्नुहुन्छ, “बच्चाहरू भनेको मान्दैनन्, टेदै टेर्दैनन, रात-दिन मोबाइल चलाएर मात्र बस्छन्, जसरी हुन्छ तपाईँहरूले तह लगाइदिनु  ” । अब भन्नुस जुन बच्चा घरमा बाबा आमालाई टेर्दैन उसले विद्यालयमा शिक्षकलाई टेर्ला, भनेको मान्ला ?  घरका अभिभावकको नियन्त्रण बाहिरका विद्यार्थीले शिक्षकलाई टेर्ने त कुरै भएन,  राम्रोसँग पढ भनेर विद्यार्थीलाई सम्झाउँदा उल्टै रिसाएर शिक्षकलाई मुख लगाउछन ।

एकले अर्कोलाई दोष थोपरेर समस्या सुल्झिने कुरा त भएन तर अभिभावकले केहि हदसम्म आफुले पनि आफ्नो ब्यबहार र शैली सुधार्नु जरुरी हुन्छ । पछिल्लो समयमा घरका सम्पूर्ण अभिभावकहरु आफैं फुर्सद पाउना साथ मोबाइल, ल्यापटप तथा टिभीमा अलमलिएको देखिन्छ । अभिभावकको अध्ययन संस्कृति नै नदेखेका बालबालिकाहरूलाई अभिभावकले एकोहोरो पढ पढ भन्दा उसले के मान्थ्यो ? मोबाइल संस्कृति अभिभावक र शिक्षकका लागी समेत घातक भएको छ ।  शिक्षकहरु पनि यसो २/४ मिनेट खाली समय हुँदा मोबाइलमा झुन्डिने गरेको देखिएकै छ । शिक्षकले विद्यालय समयमा नै बनाएका भिडियो र रिल्स अनि टिकटक विद्यार्थीले देखेमा उनीहरुमा कस्तो संदेश जान्छ अनि कुन मुखले विद्यार्थीलाई मोबाइल नचलाउ भन्ने ? जव कि हामी अभिभावक, शिक्षक नै मोबाइल बिना बस्न नै सक्दैनौं । त्यसैले मोबाइल नै समस्या हो भन्ने कुरा पनि एक हदसम्म यथार्थ हो ।

अर्कोतर्फ देशमा जति पढे पनि आखिरीमा जाने भनेको खाडी मुलुक नै हो भन्ने गलत भाष्य सिर्जना भएको छ । धेरै हदसम्म स्नातकोत्तर तथा त्यहाँ भन्दा माथि अध्ययन गरेका युवासमेत वैदेशिक रोजगारीका लागि देश छोडेर गएको परिदृश्य आजका बालबालिकाले देखेका छन् जसले गर्दा पनि विद्यार्थीहरू सिकाइप्रति लगाव नै  छैन । वर्तमान मूल्याङ्कन प्रणाली पनि त्यस्तै खालको छ जसले गर्दा विद्यार्थीलाई नपढेपनि  वा मेहेनेत नगरेपनि पास भइन्छ भन्ने मान्यताको बिकास भएको छ । कक्षा १० को एसईई परीक्षामा ९० अङ्क प्राप्त गर्नु र १०० अंक ल्याउनुमा कुनै भिन्नता नभएको कुरालाई विद्यार्थीले पनि बुझेका छन् । जसले गर्दा विद्यार्थीहरू सिकाइप्रति निरुत्साहित देखिन्छन् । अनि भन्छन ९० ल्याउनु र १०० ल्याउनु उस्तै त हो ।

यति मात्र होइन टीभीका सिरियल, फिल्म तथा सामाजिक सञ्जालको कारण विद्यार्थीहरू सानै उमेरदेखि प्रेम गर्न थाल्छन । अध्ययनको उमेरमा गर्लफ्रेन्ड, बोइफ्रेन्ड बनाउनु  डेटिङ्ग जाने, रेस्टुरेन्टमा  गएर बर्थडे मनाउने, हुक्का खाने यी कुरा फेसन जस्तो भएको छ । यी कुराले विद्यार्थीको सिकाईलाइ नराम्रोसंग बिगार्दै लगेको छ ।

नतिजा बिग्रियो भनेर शिक्षकलाई  एकोहोरो गाली गरेर मात्र पनि हुँदैन । पाठ्यक्रम बदलिए अनुसार शिक्षकलाई तालिम दिइएको छैन । पाठ्यक्रम मात्र स्तरीय बनाएर हुँदैन शिक्षकको क्षमता अभिवृद्धिमा सरकारले पर्याप्त ध्यान दिएको छैन । अर्को तर्फ तालिम लिएका अनुभवी शिक्षकले पनि जति र जसरी पढाउनु पर्ने हो त्यति दिन सकेका छैनन् । घरपायक विद्यालय, यसो फुर्सद भयो कि घरको काम, बिहान बेलुका समेत घरको काम भ्याउन पर्ने अबस्थाले विद्यालयमा समय दिन नसकेको यथार्थ हो ।  शिक्षकहरूमा बरिष्ट र कनिष्ठ, कम योग्यता र बढी योग्यता, सिनियर र जुनियर जस्ता प्रतिस्पर्धाले टिमवोर्क नै हुँदैन, शिक्षकले एकले अर्कोलाई गन्दैन यो पनि शिक्षकले स्वीकार्ने पर्छ ।  जसले गर्दा सिकाइ प्रक्रियामा असर गरेको छ र त्यसको मार विद्यार्थीलाई परेको छ । सुबिधाको कारण अधिकांश शिक्षकहरु सदरमुकाम स्थित विद्यालयमा केन्द्रित हुन खोज्नु, ग्रामिण क्षेत्रका विद्यालयमा शिक्षक जान नचाहनुले पनि केहि हदसम्म विद्यार्थीको सिकाइलाई प्रभाव परेको छ ।

त्यस्तै, नयाँ शिक्षक नियुक्ति गरेपपछि  उसलाई सिधै कक्षा कोठामा  पढाउन लगाउने गरिन्छ । के उसलाई सेवा प्रवेश गर्नुपूर्व तालिमको आवश्यकता पर्दैन? अर्कोकुरा अहिलेको कक्षा ९ र १० को पाठ्यक्रममा सबै विषयमा प्रयोगात्मक अङ्कको व्यवस्था गरिएको छ तर धेरै शिक्षकहरूले प्रयोगात्मक कक्षामा विद्यार्थीहरुलाई सहभागी गराएका छैनन् । अनुहार हेरेर नम्पर दिने प्रचलन अझै छ र नतिजाले त्यो देखाएको पनि छ ।  जस्तै सैद्दान्तिकमा कुनै विषयमा एउटा विद्यार्थीले C+ ल्याएको छ तर प्रयोगात्माक तर्फ उसले A+ अंक दिइएको छ, सहि मुल्यांकन भयो त ? प्रयोगात्मक सिकाइका लागि कति विद्यालयमा विज्ञान, कम्प्युटर, गणित प्रयोगशालाहरूको निर्माण समेत हुन सकेको छैन । देशका धेरै सामुदायिक विद्यालयमा माध्यमिक तहमा विषय शिक्षक नै छैनन्, दरबन्दी भएपनि विकट बस्तीमा पटकपटक शिक्षक पद पूर्तिको विज्ञापन गर्दा पनि पदपूर्ति हुन सकेको स्थिति छैन। जसले गर्दा विद्यार्थीको सिकाइस्तर कमजोर हुने नै भयो ।

नतिजा आयो, त्यसको केहि दिन यसको चर्चा हुने तर विस्तारै हिजो जस्तै जस्तै सामान्य रुपमा लिएर हुँदैन । अबका दिनमा विद्यालय शिक्षाको सिकाइ उपलब्धि वृद्धि गर्नका लागि सम्पूर्ण सरोकारवालाले ध्यान दिन जरुरी छ । सरकारले मूल्याङ्कन पद्धतिमा पनि स्थिरता कायम गर्नुपर्दछ । आधारभूत तहबाट नै सैद्धान्तिक तथा प्रयोगात्मक दुवै परीक्षामा उत्तीर्ण विद्यार्थीलाई मात्र कक्षा चढाउने  नीति अवलम्बन गर्नुपर्दछ । निरन्तर आफ्नो अध्यापन क्रममा कर्ममा लाग्ने शिक्षकलाई पनि एउटै टोकरीमा राखेर राजनीतिमा लागेका कारणले गर्दा सिकाई स्तर खस्किएको हो भनेर आरोप लगाइएको छ, त्यो पनि गलत हो । दोषी शिक्षकलाई मात्र छानबिन गरेर कानुन अनुसार कारबाही गरिनुपर्दछ भने इमान्दार र कर्तब्यनिष्ठ शिक्षकलाई प्रोत्साहन गरिनुपर्छ ।

अभिभावकले आफ्ना बालबालिकासंग सके बिहान बेलुका, नसके कम्तीमा एक पटक संगै खाना खाने गर्नुपर्दछ । ब्यस्त भएर छोराछोरीसंग कुरा गर्न नपाएको खण्डमा सोहि समयमा उनीहरुको पढाइ, विद्यालयको गतिबिधि र कुनैसमस्या  छ भने सोधपुछ गर्न सकिन्छ ।  दिनको एक  घण्टा मात्र भएपनि आफ्ना बालबालिका सँगै बसेर पढ्ने, गृहकार्य नियमित गरेर नगरेको परीक्षण गराए नगराएको बुझ्ने गर्नुपर्दछ जसले शिक्षक विद्यार्थी दुवै सचेत हुन्छन् । अभिभावकले विद्यार्थी नियमित रुपमा विद्यालय गए नगएको पनि बुझ्नुपर्छ । बालबालिकालाई मोबाइल आफ्नो निगरानीमा निश्चित समय तोकेर सिकाइमा मात्र प्रयोग गर्न लगाउनु पर्दछ । विद्यालय पठाएकै छ, फि तिरिदिएकै छ, कापीकलम, किताव, खाजा पुर्याई दिएकै छौ,  पढाउने काम शिक्षकको, पढ्ने काम विद्यार्थीको भनेर अभिभावकहरू आफ्नो दायित्वबाट पन्छिन, उम्कन पटक्कै मिल्दैन ।

विद्यार्थीले पनि नियमित रुपमा विद्यालयमा जाने, शिक्षकलाई आदर गर्ने, अनुशासित हुने, कुलतमा नलागी असल बानीको विकास गर्ने, नियमित गृहकार्य गर्ने गरेमा सिकाइ स्तर अवश्य पनि वृद्धि हुन्छ । शिक्षकले पनि विद्यार्थीको सिकाइ आफ्नो प्रतिष्ठासँग पनि जोड्नुपर्छ र आफ्नो सन्तुष्टिको रुपमा लिनुपर्छ र आफुले पढाउने विषयको पूर्णरुपमा जिम्मेवारी लिनुपर्छ ।

अन्तमा: कमजोर नतिजा सुधार ल्याउनु जरुरी छ  जसको लागी विषयगत शिक्षकको व्यवस्था, अभिभावकको चासो र निगरानी, अनलाइन शिक्षाको व्यवस्थित उपयोग, नीति सुधार, शिक्षक तालिम र क्षमता अभिवृद्धि, र सामाजिक सुधारमार्फत विद्यार्थीहरूको सिकाइ स्तर सुधार्न सकिन्छ । सबै सरोकारवालाहरूको साझा प्रयासले मात्र शिक्षा प्रणालीमा सुधार ल्याई नतिजा राम्रो बनाउन सकिन्छ ।